फाइल तस्वीर
बेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु भएको हो ।

उक्त आयोजना एक महिनाअघि नै निर्माण सम्पन्न भैकेको थियो । आयोजनाका अनुसार विद्युत उत्पादनको आज शुक्रबारसम्म मेसिन जडान भैसक्ने छ । यस आयोजनाबाट विद्युत उत्पादनको सफल परीक्षण भइसकेको छ । गत वर्ष आएको बाढीले पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा क्षति पुर्याएपछि विद्युत उत्पादनमा विलम्ब हुन गएको आयोजनाको भनाइ छ । पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्सका सबै काम सम्पन्न गरेपछि विद्युत उत्पादत परीक्षण गरेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि बाढीका कारण आयोजनाको निर्माण लागत बढ्न गएको आयोजनाको भनाइ छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ ।

वि.सं. २०७१ सालबाट निर्माण सुरुगरी २०७४ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएर सुरुभएको यस आयोजना २०७२ सालमा आएको विनासकारी भूकम्प, भारतद्वारा गरिएको अघोषित नाकाबन्दी र २०७६ भदौमा आएको भीषण बाढीका कारण निर्धारित समयमा निर्माण हुन नसक्दा आयोजनाको लागत बढ्न भएको बताइएको छ ।