नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर

कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ ।

आगामी कार्तिक ३ गतेसम्म सञ्चालन हुने नेपाली खेलकुद प्रतियोगिताको सबैभन्दा ठूलो घरेलु महाकुम्भ खेलकुद प्रतियोगिताको नवौं संस्करणको अधिकांश खेलहरू भने केही दिन अघिदेखि नै सुरु भइसकेका छन् । झण्डै चालिस वर्षपछि दोस्रो पोखरामा आयोजन गरिएको यो प्रतियोगितामा सात वटै प्रदेशका साथै विभागीय टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।

नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट उपलब्ध गराएको छ । राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन र छनोट गर्ने देशभित्रकै खेलकुलको कुम्भमेलाको रुपमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । निर्धारित समयमा प्रतियोगिता सम्पन्न गर्न राखेपले यसअघि नै विभिन्न १४ वटा समितिहरु गठन गरेको थियो ।

गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन हुन लागेको यस प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुँदैछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि देशभरबाट ६ हजार १५७ खेलाडीले सहभागी हुनेछन् । कुल चार सय चार स्वर्ण पदकका लागि यी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चार सय चार रजत पदक र छ सय एक कांस्य पदकका लागि सात प्रदेशका साथै विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टिम प्रतियोगितामा भिडन्त गर्नेछन् ।

यसअघि राखेपले राष्ट्रिय खेलकुदका लागि प्रत्येक टोलीका लागि व्यक्तिगत र समूहमा गरी सहभागी खेलाडीको कोटा सङ्ख्या सात सय नौ जना तोकेको थियो । जसमा तीन सय ७४ पुरुष र तीन सय ३५ महिला खेलाडीको पूर्ण कोटा निर्धारण गरिएको थियो ।

प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषदको फितलो व्यवस्थापन र खेलाडी छनोटमै समस्या देखिएपछि सबै टोलीले पूर्ण कोटामा खेलाडी सहभागी गराउन सकेनन् । यस नवौं संस्करणमा सबैभन्दा धेरै खेलाडी गण्डकी प्रदेशले प्रतिस्पर्धामा उतारेको छ । त्यसो त नवौं राष्ट्रिय खेलकुल प्रतियोगिताको आयोजक स्वयम् गण्डकी प्रदेश हो । यस प्रदेशबाट सात सय छ जना खेलाडीले सबै ३६ खेलमा प्रतिस्पर्धा गर्दछन् । यस प्रतियोगिता गण्डकी प्रदेशपछि धेरै खेलाडी विभागीय टिम नेपाल आर्मी क्लबले उतारेको छ । यस क्लबले ६ सय ६८ जना खेलाडीलाई प्रतियोगितामा उतार्दै छ ।

पोखरामा आयोजना भएको राष्ट्रिय खेलकुदको कुम्भमेलामा बागमती प्रदेशले ३६ खेलका लागि ६ सय ५६ जना खेलाडीलाई सहभागी गराएको छ भने प्रदेश–१ ले ३५ खेलमा ६ सय ८४ जनालाई पोखरा ल्याएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशले ३२ खेलमा प्रतिस्पर्धा गर्न ६ सय १८ जना खेलाडी उतारेको छ । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ३१ खेलमा प्रतिस्पर्धा गर्न पाँच सय ५८ जना खेलाडी उठाएको छ भने अर्को विभागीय टिम नेपाल पुलिस क्लबले २९ खेलमा मात्र भाग लिन पाँच सय ८७ जना खेलाडी पोखरा पठाएको छ ।

यसैगरी मधेश प्रदेशबाट २८ खेलमा प्रतिस्पर्धा गर्न ५ सय ४५ जना खेलाडी पोखरा पुगेका छन् भने लुम्बिनी प्रदेशले ३५ खेलका लागि तीन सय ४८ जना खेलाडी पठाएको छ । त्यसोत, कर्णाली प्रदेशले ३० खेलमा प्रतिस्पर्धा गर्न पाँच सय तीन जना खेलाडी पठाएको छ । गैह्र आवासिय सङ्घ (एनआरएनए) को तर्फबाट एक सय १६ जना खेलाडी प्रतिस्पर्धामा उत्रने भएका छन् । एनआरएनएले जम्मा १७ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

आगामी कार्तिक ३ गतेसम्म सञ्चालन हुने यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।