पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएता पनि अस्वस्थताका कारण उहाँ उपस्थित हुन सक्नुभएको छैन । गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ । – रासस