फाइल तस्वीर

भरतपुर – चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ को इचर्नी खोला नजिकै एक गैंडा मृत अवस्थामा फेला परेको छ । इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तार छोएपछि करेन्ट लागेर आज बिहान करिब ४ बजे उक्त गैंडाको मृत्यु भएको हो ।

करेन्ट लागेको मरेको करिब पाँच–छ वर्षको उक्त भाले गैंडाको मृत्युसम्बन्धी अनुसन्धान गर्न प्राविधिक टोली पठाइएको र अनुसन्धान भैरहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भएको छ ।
बङ्गुर फार्मको सुरक्षाका लागि नाङ्गो बिजुलीको तार लगाइएको र उक्त तारमा बिजुलीको करेन्ट प्रवाह हुँदा करेन्ट लागी उक्त गैंडा मरेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो ।

यस आर्थिक वर्षमा योसँँगै चितवनमा दुईवटा गैंडाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ मानिएको एकसिङ्गेको सङ्ख्या छ सय ९४ वटा रहेको बताइएको छ ।