फाइल तस्वीर


कास्की – मनाङ जिल्लाको प्रदेशसभा सदस्यमा दिपक मनाङेका नामले चिनिनु हुने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट उहाँ निर्विरोध हुनुभएको हो ।

प्रदेशसभा सदस्यका लागि गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’ मा काङ्ग्रेस र एमाले दुवैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङेले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उनको समर्थनमा गर्दै उम्मेदवारी दिएन ।

स्वतन्त्र उम्मेदवारी दिएका दोर्जेले आज बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिन जिल्ला निर्वाचन आयोगमा निवेदन दिएपछि दिपक मनाङेको मात्रै एकल उम्मेदवारी रहेकाले उहाँ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचनको सबै प्रक्रिया पुरा गरेर आजै दिउँसो दिपक मनाङे उर्फ राजीव गुरुङलाई निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताउनु भएको छ ।

मनाङे २०७४ मा पनि मनाङ् जिल्लाबाटै स्वतन्त्र उम्मेदवार थिए । त्यसबेला उहाँले एमालेको समर्थनमा निर्वाचन जित्नु भएको थियो । पछि गण्डकी प्रदेशमा तात्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले उहाँलाई खेलकुल मन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि मनाङेले गठबन्धनलाई साथ दिंदै पुनः खेलकुल मन्त्रीमा नियुक्त हुनुभएको थियो । गुरुङको सरकार अल्पमतमा परेपछि मनाङेकै समर्थनमा नेपाली काङ्ग्रेसबाट कृष्णचन्द्र नेपाली नेतृत्वमा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभयो र मनाङे पुनः खेलमन्त्री बन्नु भएको थियो । निविरोध नवनिर्वाचित मनाङे अहिले पनि गण्डकी प्रदेशका खेलकुद मन्त्री हुनुहुन्छ ।