काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । सेयर बजार परिसूचक १६ दशमलव ०६ अङ्कले घटेको हो ।

आइतबार ४५ अङ्कले बढेको बजार सोमबार २७ अङ्कले घटेको थियो । आज मङ्गलबार बजार ओरालो लाग्दा समग्र बजार परिसूचक १८५५ दशमलव १६ मा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अङ्लेक घटेर ३६३ दशमलव ६३ अङ्कमा झरेको छ ।

बजारसँगै कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । आज ५५ करोड २७ लाख १२ हजार ८ सय ८५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । साताको सुरुवातमा ८३ करोड रहेको कारोबार सोमबार ९७ करोडको कारोबर भएको थियो । यस्तै १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर १२ हजार २ सय ९३ पटकमा खरिद बिक्री भएको थियो ।

उप–समूहतर्फ ट्रेन्डिङ, होटेल एण्ड टुरिजम तथा म्युचुअल फण्ड बाहेकका समूहको सेयर मूल्य घटेको छ । बजार घट्दा मंगलबार कारोबार भएका जम्मा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । समिट लघुवित्त वित्तिय संस्था, अभियान लघुवित्त, सिटिजन म्युचुअल फण्ड, रुरु जलविद्युत परियोजना ,स्वेत गंगा हाइड्रोपावर लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् । आज समिट लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।