काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको दोस्रो कारोबारमा बजार २७ अङ्कले गिरावट आएको हो ।

दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ४५ अङ्कले बढेको बजार दोस्रो कारोबारमा भने ओरालो लागेको छ । आज बजार परिसूचक २७ दशमलव १६ अङ्कले अर्थात १ दशमलव ४३ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ प्रतिशतले घटेर ३६६ दशमलव ८४ मा झरेको छ ।

सोमबार कारोबारको सुरुवात देखिनै ओरालो लागेको बजार अन्तिमसम्म कायम रहन पुगेको थियो । बजार घटेपनि आइतबारको तुलनामा कारोबार रकममा भने केही सुधार आएको छ । आइतबार ८३ करोडको कारोबार भएको बजारमा सोमबार २३३ कम्पनीको ९७ करोड १७ लाख ६७ हजार ७ सय १४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर १७ हजार ८ सय ७६ पटकमा खरिद बिक्री भएको थियो । उप समूहतर्फ सोमबार म्युचुअल फण्ड बाहेक १२ समूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको सेयर २ दशमलव ६५ प्रतिशतले घटेको छ । बजार घट्दा जम्मा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । अभियान लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, एनआइसी एसिया फण्ड, उन्नती सहकार्य लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा रहेका छन् ।