फाइल तस्वीर

काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले उकालो लागेको हो ।

दसैंको बिदा अघि १८५३ दशमलव ७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४ दशमलव ६२ अङ्कले बढेर १८९८ दशमलव ३८ मा उक्लिएको छ । बजार परिसूचक ४४ दशमलव ६२ अङ्कले अर्थात २ दशमलव ४१ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ७८ अङ्कले बढेर ३७२ दशमलव २१ मा उक्लिएको छ ।

बजार बढेपनि कारोबार रकम भने १ अर्ब पनि कट्न सकेन । आज २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १ सय ४० रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । उप–समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा धेरै फाइनान्स समूह ४ दशमलव ६९ प्रतिशतले बढ्यो । बढ्दो बजारमा १७५ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ । सप्तकोशी विकास बैंक, उपकार लघुवित्त, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी विकास बैंक, एक्सेल विकास बैंक उच्च कमाउने ५ कम्पनी रहेका छन् ।