फाइल तस्वीर ।

बारा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । उक्त दुर्घटनामा परी उपचारका क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भर्ना गरिएकी बारा कलैयाकी १२ वर्षीय कृतिका चौधरीको उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो ।

हिजो बिहीबार उक्त बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुने सबै १७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शङ्कर रहेका छन् ।

त्यस्तै हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ ।