प्रतिकात्मक तस्वीर

धनुषा– फलामको रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले फलामको रड प्रहार गरी भतिजको हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

रविले नाबालक अनुशलाई आज साँझ फलामे रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धनुषाका प्रनाउ क्षेत्रीका अनुसार आज दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रविले रडले प्रहार गरेपछि बालकको मृत्यु भएको हो । रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । स्थानीयस्तरमै उपचारका क्रममा आधा घण्टाभित्रै बालकको मृत्यु भएको प्रनाउ क्षेत्रीले बताउनुभयो ।

घटनालगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । रविलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । हत्याको कारण भने खुल्न सकेको छैन । पारिवारिक विवादमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।