काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मङ्गलबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

मङ्गलबार भएको बाँडफाँडमा १ लाख ५ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७ सय ३७ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८ सय ३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँड गरिएको छ ।