काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३ दशमलव ८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक २ दशमलव ५७ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २ दशमलव ५४ प्रतिशतले, म्यानु एण्ड प्रो १ दशमलव ८१ प्रतिशतले, ट्रेडिङ १ दशमलव ९२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १ दशमलव ५२ प्रतिशतले घटेका छन् । अन्य समूहहरु १ प्रतिशत भन्दा कमले घटेका छन् ।