फाइल तस्वीर
दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताउनुभएको हो ।
’कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ’, पौडेलले भन्नुभयो, ’मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।’ वरिष्ठ नेता पौडेलले काङ्ग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण गर्नुभयो ।
निर्वाचनको दिन नजिकिँदै गरेकाले काङ्ग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ’गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ ।’ काङ्ग्रेसभित्रका नेताहरूलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।
छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराएका छन् । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा काङ््ग्रेसका नेताबीच देखिएको बेमेलले काङ्ग्रेस कमजोर रहेको बताएका थिए । रासस