एजेन्सी – उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने ।

उत्तरले सम्भावित व्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ । उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहर गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाईल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ ।

मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियासँगको असफल कुटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई बढाउने वाचा गरेका छन् ।