फाइल तस्वीर

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनी होटल तथा पर्यटन व्यवसायीको संस्था लुम्बिनी होटल सङ्घ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो । विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वर्षिक लाखौं पर्यटक आउने भए पनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको छ। सरकारले रात्रीकालीन बजारको अवधारणा ल्याउदा सार्वजनिक ठाउ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फाहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको छ ।

हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आत्तुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न नसकेको लुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भन्नुभयो । कोभिडले शून्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ । सबैभन्दा प्रभावित क्षेत्र पर्यटन पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्छ । केही मात्रमा आएका पर्यटकलाई पनि हामीले घुम्ने वातावरण बनाउनु जरुरी रहेको छ ।

प्रचार प्रसारको माध्यमबाट पर्यटन आगमनलाई सहज बनाउदै सरकारबाट हुनुपर्ने कतिपय सुधारका काम निजी क्षेत्रले गरिरहेको छ । लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले हामीले स्थानीय सरकारलाई १५ दिन भित्र वतावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको होटल सङ्घ नेपालका अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालीका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ । पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तर त्यो क्षेत्र अन्धकारमा छ विज्ञप्तीमा भनिएको छ ।