काठमाडौं – नेपाली चलचित्र प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदैछ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताएका हुन् ।

चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

प्रदीप र क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन भने नेपालमा घटस्थापना (१० असोज)देखि मात्र प्रदर्शन हुने भएको छ । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक–दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सेनले जानकारी दिए । उनले घटस्थापनाको दिनबाट मात्र प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताएका छन् ।