फाइल तस्वीर

काठमाडौं – सरकारले भारतबाट कच्चा दूध ल्याउन अनुमति दिएको छ । चाडवाडको समयमा दूधको अभाव भएको भन्दै डेरी उद्योग सङ्घले भारतबाट दूध आयात गर्न माग गरेकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डेरी उद्योगीहरूलाई दूध ल्याउन अनुमति दिएको हो ।

चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागिमात्रै सो अनुमति दिइएको डेरी उद्योग सङ्घले जनाएको छ । अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।

मन्त्रालयले दैनिक एक लाख २० हजार लिटरसम्म दूध आयात गर्न अनुमति दिएको छ । त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी) ले प्रतिदिन ४० हजार लिटर र निजी क्षेत्रका डेरीले प्रतिदिन ८० हजार लिटरसम्म दूध ल्याउन पाउने भएका छन् ।

कोरोना भाइरसको महामारीले गदाृ दूध सङ्कलनमा कमी भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थको विक्रीमा ४० प्रतिशत कटौती भएको दूध डेरी सञ्चालकहरुको भनाइ छ ।

अहिले मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको डेरी उद्योग सङ्घको भनाइ छ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी) लाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव रहेको उक्त संस्थानका महाप्रवन्धक सञ्जीव झाले बताएका छन् ।

महाप्रवन्धक झाका अनुसार अहिले दूधको अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहेको छ । चाडपर्वमा दूध तथा दूधजन्य वस्तुको माग धेरै भएको तर दूध अभावका कारण उत्पादन नहुँदा उपभोक्ताको आवश्यकता पूर्ति गर्न नसकिएको महाप्रवन्धक झाको भनाइ छ ।

कोभिड–१९ महामारीका कारण पशुको दाना, चोकर र आहार आदि अभाव हुँदा दूध उत्पादन घटेको बताइएको छ । कच्चा दूध अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थको माग पूरा गर्न नसकेको भन्दै डेरी उद्योग सङ्घले केही समयका लागि भए पनि भारतबाट कच्चा दूध आयात खुला गर्न माग गरेको थियो ।

कृषि मन्त्रालयले यसरी दूध आयातको अनुमति दिएपछि केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलगायत सङ्घसंस्थाले विरोध गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले पत्रकार सम्मेलन गरी र केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले प्रेस विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेको छ ।

चितवन समाचारदाताका अनुसार नेपालको मागअनुसारको दूध यहीँ उत्पादन भइरहेको अवस्थामा विभिन्न बहाना बनाएर भारतबाट आयात गर्ने तयारी गरेकोमा सहकारी सङ्घले विरोध जनाएको छ । सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले चितवन जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीबाट खरिद गरेको दूधको पैसा नतिर्ने डेरी उद्योगले भारतबाट नगद तिरेर ल्याउन नपाउने उहाँले बताउनुभयो । नेपाललाई अहिले कति परिमाणमा दूध आवश्यक छ भन्ने सरकारसँग तथ्याङ्क छैन । सङ्घका अनुसार २०७५ सालदेखि भारतबाट नेपालमा दूध ल्याउन बन्द गरिएको थियो ।

भारतबाट दूध आयात भएमा नारायणगढमा किसान भेला गरेर भारतबाट ल्याएको दूध नारायणी नदीमा बगाइदिने चेतावनीसमेत सङ्घले दिएको छ ।