काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साँझ ५ बजेपछि सुरु हुनेछ । महिला साफको १२ वर्षको इतिहासमा नेपाल र बङ्गलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतसँगको भेटमा १–० ले जित निकाल्दै नेपालले उपाधिका लागि बंगलादेशसँग भेट पक्का गरेको हो । बङ्गलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेपछि छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने भएको छ । यस अघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो ।

आजको विजेता टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको छ । बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल खेल्न लागेको छ । यस अघिका संस्करणमा यी दुई टोली तीन पटक आमने सामने भएका छन् । सबै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले हराउँदा २०१४ को दोस्रो भेट नेपाल १–० ले तथा २०१९ को भेटमा नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेको थियो ।

आज सोमवार हुने फाइनल खेलमा पनि नेपाल सोही नतिजालाई दोहोर्याउन चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले उपाधि अर्जुन दृष्टि भएको सोही अनुसार महिला टोलीले लक्ष्य राखेर अगाडि बढेको र एक कदममात्र बाँकी रहेको बताउनु भयो । घरेलु मैदानमा आयोजना हुन लागेको फाइनल खेलमा उपाधि नै मुख्य लक्ष्य भएको र कुनैपनि चुनौती सामना गर्न टोली सबै किसिमले तयार भएको प्रतिक्रिया दिनुभयो । कुनैपनि हालतमा टिमलाई सन्तुलित बनाउने र सोही टोलीबाट नतिजाको अपेक्षा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तयारी हामीले नौ हप्तादेखि गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि नै हो । अहिले हाम्रो अर्जुन दृष्टि छ । मैदानमा उपस्थित भएको दर्शकका लागि हामीले कुनैपनि हालतमा उपाधि दिने सोचमा छौं । मौसम, मैदानको अवस्था हाम्रो लागि कुनै छुट छैन । मुख्य लक्ष्य नै उपाधि हो । त्यो जुनकुनै हालतमा लिन चाहन्छ । चाहे त्यो बिरामी खेलाडी मैदान उतारेर होस् वा युवा खेलाडीलाई राखेर होस्, सन्तुलित टोलीको निमार्ण गरेर नतिजा पक्षमा पार्ने योजनासहित मैदान उत्रिने हो ।’

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नुपर्ने समिकरण बनेको हो । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकालेको थियो । सोमवार हुने प्रतिष्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो । घरेलु मैदानमा हुने खेलमा नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले कम भन्दा कम गल्ती गर्ने र रंगशालामा उपस्थित भएको दर्शकलाई खुशी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कम भन्दा कम गल्ती गर्ने योजनामा छौं । गोल खानु भएन । गल्ती नगरी खेलको खण्डमा नतिजा हाम्रो पोल्टामा पर्छ । हाम्रो नारा भनेकै ‘हामी सक्छौं, हामी गर्छौ’ हो । हामी सकारात्म भएर मैदान उत्रिनेछौं ।’ बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाट नै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ ।

बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ ।

आज सोमवार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ यद्यपि पछिल्लो प्रशिक्षणमा भने उपस्थित भएकी छिन् । उनको चोट नेपालका लागि टाउको दुखाई बनेको छ । घरेलु मैदानमा नेपाललाई साफ उपाधि उचाल्ने दोस्रो अवसर हुनेछ । यस अघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।