काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार पनि शेयर बजार ओरालो यात्रातर्फ लागेको छ । अघिल्लो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव १० अङ्कले घटेर १९१० दशमलव ३८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज कारोबारको दुई घण्टामा नेप्सेमा २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिदबिक्री हुदाँ ९ करोड ८१ लाख ८६ हजार ४८७ रुपैंया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७ दशमलव ८७ प्रतिशत बढेको छ । त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ७५ प्रतिशत बढेको छ । यस दिन मिर्मिरे माइक्रोफाइनान्स रिभर फल्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । सो उपसमूहको परिसूचक यस दिन ० दशमलव ०१ प्रतिशत बढेको छ । कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।