काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको हो ।

ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको बिकासमा सरकार प्रतिबद्ध रहेको भन्दै खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले सरकारले कसैलाई पनि पक्षपात नगरी खेलको विकासमा लागि धारणा राख्नुभयो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । ट्रफीलाई यसपटक रचनात्मक ढङ्गले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पु¥याइने राखेप सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रधानमन्त्री देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।