काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन । सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ । यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

यस्तो छ इतिहास
बङ्गलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो। दोस्रो, तेस्रो र पाँचौँ संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो। चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो।

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन्। बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहँदैन। साबित्राले भुटानविरुद्ध ४–० को जितमा एक गोल गरेकी थिइन्। मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन्।

बङ्गलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दै छन्। खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ। भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो। बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गर्दै विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। भुटान समूह उपविजेता बनेको थियो।