काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० वटा नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ सय ३७ जना मुक्त भएर घर फर्किएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २ हजार १ सय २९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ५३ जना, भक्तपुरमा एक जना र ललितपुरमा तीन जना कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय १९ जना पुगेको छ । आज २ हजार ६२ जना होमआइसोलेसनमा र ६७ जना संस्थागत आइसोलेसनमा र अस्पतालमा उपचाररतमध्ये १८ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।