काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७ दशमलव ४४ अङ्क (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१ दशमलव ४८ अङ्कमा पुगेर बन्द भएको हो ।

गत साताबाट लगातार घटेकोे नेप्सेमा हिजो मङ्गलबारबाट भने सुधार आएको छ । नेप्सेमा हिजो दोहोरो अङ्कले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि भएसँगै कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक पुगेको छ । यो साता लगातार ३ दिनसम्म १ अर्बबाट तल झरेको कारोबार रकममा बुधबार भने सुधार भएको हो ।

आज बुधबार नेप्सेमा ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार हुँदा गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ । आज नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८ दशमलव ३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७ दशमलव ८१ प्रतिशतले बढेको छ ।