काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलो पटक हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसामू भारत ३–० ले पराजित भएको हो ।

बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल गरेकी थिइन् । साविक विजेताविरुद्ध १२औं मिनेटमा बङ्गलादेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।

समूह विजेता बनेको बङ्गलादेशले समूह एु मा ३ खेलमा ९ अङ्क जोडेको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ भने भारतले नेपालको सामना गर्नेछ ।