काठमाडौं – सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ । सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र बोर्ड द्विविधामा परेको हो ।

नियमावलीको बुँदा नं २ को उपबुँदा ३ मा धितोपत्र बोर्डले नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिएर आवेदन माग गर्ने भनिएको छ । तर, उपबुँदा ५ मा भने ‘नियमावली प्रारम्भ भएको ३ वर्षपछि बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्नेछ’ भनिएको छ । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन पारित गरेको थियो । पास भएको नियमावलीमा आफूले प्रस्ताव गरेकोभन्दा विपरीत अर्को बुँदा थपेर आएपछि बोर्ड नै अन्योलमा परेको हो । बोर्डले पुनः नियमावली संशोधनको माग समेत गरेको छ ।

बोर्ड स्रोतका अनुसार नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नियमावलीमा धितोपत्र बोर्डले शेयर किनबेचका लागि २० करोड चुक्ता पूँजी चाहिने व्यवस्था गरेको छ । अहिलेको साधारण शेयर खरिदबिक्रीका लागि २ करोड चुक्ता पूँजी चाहिन्छ । यस्तै लगानी परामर्श सेवा, निक्षेप सदस्य तथा मार्जिन कारोबारको लागि ६० करोड रुपैयाँको चुक्ता पूँजी चाहिने व्यवस्था गरिएको छ ।