फाइल तस्वीर

काठमाडौं– नेपालमा जारी छैंटौं संस्करणको साफ महिला च्याम्पियनसिप–२०२२ अन्तर्गत आज समूह ‘बी’ को खेल हुँदैछ । आज सोमबारको खेल नेपाल र श्रीलङ्काबीच हुन लागेको हो ।

समुह‘बी’ मा रहेका यी दुवै टिम जितको खोजिमा हुने छन् । नेपालले यस अघि भएको उद्घाटन खेलमा भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले सहज जित निकालेको थियो भने श्रीलङ्कका र भुटानबीच भएको खेलमा भुटानले ५–० गोलको फराकिलो गोलले श्रीलङ्कालाई हराएको थियो । समूह ‘बी’मा रहेका नेपाल, भुटान र श्रीलङ्कामध्ये आयोजक राष्ट्र नेपाल र पाहुना टोली भुटानले समान ३÷३ अङ्क जोडेका छन् । गोलका आधारमा भुटान नेपालभन्दा माथि छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेलमा नेपालले श्रीलङ्कालाई हराएमा समूह ‘बी’बाट नेपाल र भुटानले सेमिफाइनलको यात्रा तय गर्ने छन् । यदी श्रीलङ्काले नेपाललाई ५–० गोलको फराकिलो अन्तरले हराउन सकेमा मात्रै श्रीलङ्काले सेमिफाइनलको यात्रा बनाउन सक्ने छ भने नेपाल गोल अन्तरका कारण बाहिरिन सक्नेछ । तर नेपालसँग ४–० को हार व्यहोरेको भुटानले श्रीलङ्कालाई ५–० ले हराएका कारण आजको खेलमा श्रीलङ्काले नेपाललाई फराकिलो गोल अन्तरले हराउन असम्भव प्रायः नै छ । तर पनि खेल हो, नतिजा उल्टन सक्ने पनि हुन सक्छ । यद्यपि, श्रीलङ्काले नेपाललाई हराउन फलामको च्युरा चपाए सरह भने पक्कै हुने छ । नेपालले बराबरीमात्रै खेले पनि सेमिफाइलको यात्रा सुनिश्चित नै छ ।

नेपाल समूह ‘बी’को विजेता बन्ने निश्चित प्रायः देखिन्छ । समूह ‘ए’बाट यसअघि भएका पाँचै संस्करणको विजेता भारत र एकपटक फाइनलको यात्रा गरेको बङ्गलादेशले जारी छैटौं संस्करणमा एक/एक खेल खेल्नु अघि नै सेमिफाइनल यात्रा पक्का गरिसकेका छन् । समूह ‘ए’मा रहेका माल्दिभ्स र पाकिस्तान पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

नेपालले आजको खेलमा ‘जित वा ड्र’ मात्रै निकाल्दा पनि समूह विजेता बनेर सेमिफाइनलको यात्रा तय गर्ने छ । सेमिफाइनलमो समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । यसरी हेर्दा भारत र भुटानले सेमिफाइनल खेल्नेछन् भने समूह ‘बी’ को विजेता नेपाल र समूह ‘ए’को उपविजेता बङ्गलादेशबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।

सेमिफाइनलमा भारतले भुटानलाई हराउन सक्दछ । तर अर्को सेमिफाइनलमा नेपाल र बङ्गलादेशी टिमबीच कडा प्रतिस्पर्धा हुने सम्भावनालाई नकार्न सकिन्न । नेपालले घरेलु दर्शक र होम ग्राउण्डको भरपुर उपयोग गर्न पाउने हुँदा सेमिफाइनलमा बङ्गलादेशलाई पाखा लगाएर फाइनलको यात्रा गर्न सहज देखिन्छ । अहिलेसम्मको साफ महिला च्याम्पियनसिपको नतिजा हेर्दा भारतले सबै नतिजा आफ्नो पोल्टामा पार्दै च्याम्पियन बनेको छ भने नेपाल चार पटकको उपविजेतामै रोकिएको छ । नेपाल यसपटक घरेलु दर्शक र होम ग्राउण्डको फाइदा बटुल्दै फाइनलमा भारतसँग यस अघिको हारको बदला लिन चाहन्छ ।

आज सोमबारको खेल नेपाल र श्रीलङ्काबीच बेलुका ५ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।