एजेन्सी – ट्युनिसियाको तटमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुङ्गा डुबेपछि १४ जनाको उद्धार गरेको छ ।

शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

ट्युनिसियाली डुङ्गा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुङ्गा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो । विभिन्न देशबाट गैर कानुनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।