एजेन्सी – श्रीलङ्काले छैटौं पटक एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो ।

श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

श्रीलङ्काका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

श्रीलङ्काका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ रन बनाए ।वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए । पाकिस्तानका हरिस राउफले ३ विकेट लिए ।

श्रीलंकाले पहिलो पटक सन् १९८६ मा एसिया कपको उपाधि जितेको थियो । यसपछि टोलीले सन् १९९७, २००४, २००८, २०१४ र अहिले २०२२ मा उपाधि जितेको छ । भारतले यो उपाधि सबैभन्दा धेरै पटक जितेको छ । श्रीलंका अब भारतसँगको बराबरी गर्न एक उपाधि मात्र टाढा छ ।