फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनु भएको । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएकोप्रति चिन्ता व्यक्त गदै युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर, अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने दावी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले ‘राष्ट्र, समाज र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो भन्दै कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीहरूको लागि सबैभन्दा महत्वपूर्ण रहेको’ उल्लेख गर्नुभयो । ‘पाँच छ दशक अघिसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर र सबैकुरा निर्यात गर्नसक्ने अवस्थामा रहेको नेपालको अहिलेको आर्थिक विकास पछाडि गएको छ’ भन्दै चिन्ता प्रकट गर्नुभयो ।


हामी धेरै पढ्यौं, लेख्यौं, धेरै जान्ने सुन्ने पनि भयौं । तर, देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन, पछाडि गएको देखिनु ठूलो चुनौती हो’ अध्यक्ष प्रचण्डको भनाइ थियो । नेता प्रचण्डले रणनीतिक रूपमा, दीर्घकालीन नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ भन्दै युवा व्यवसायीहरुलाई कृषि क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।