नेपाल भुटानसँग पराजित भएको छ । बहराइनमा जारी एएफसी यू–२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत शनिबार भएको समूहको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरमा पराजित भएको हो ।

खेलको ३३ औं मिनेटमा सोनाम चोजाङको गोलमा भुटानले सुरूआती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा थप एक गोल खान पुग्यो । दोस्रो हाफको सुरूवातमै भुटानले अग्रता दोब्बर पा¥यो । कर्मा टासी जाम्सोले गोल गर्दै भुटानको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो। अभिषेक वाइबालाई सोझै रातो कार्ड दिएर रेफ्रीले मैदान बाहिर पठाएका थिए।

यो जितसँगै भुटानले सानदार प्रतियोगितामा विजयी सुरूआत गरेको छ । गत महिना सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा तेस्रो भएको नेपाल पहिलो खेलमै पराजित भएको हो । एएफसी यू–२० छनोटको यो समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन्। बंगलादेश साफ यू–२० मा उपविजेता बनेको थियो । एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ । एएफसी यू–२० मा सहभागी १० समूहबाट सबै शीर्ष टोली र उत्कृष्ट ५ दोस्रो स्थानको टोली अन्तिम चरणका लागि अघि बढ्नेछन् ।