प्रतिकात्मक तस्वीर

दमौली – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निजलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । पक्राउ परेका श्रेष्ठ विरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बा प्र ०३–००१ ह १५६८ नम्बरको टेम्पो चलाई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात् प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।