फाइल तस्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नभएको आरोप लगाउनु भएको छ । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तागठबन्धन एमालेको विरोध गर्न मात्र भएको भन्दै यसको कुनै सिद्धान्त र गन्तव्य नभएको प्रतिक्रिया व्यक्त गर्नु भएको हो ।

एमाले नेता पोखरेलले गठबन्धनको सबै षड्यन्त्रलाई चिर्दै आसन्न सङ्घ र प्रदेशसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने ठोकुवा समेत गर्नुभयो । अहिलेको तथ्यले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले बहुमत ल्याउने देखिएको नेता पोखरेलको भनाइ थियो ।

अहिले आवश्यकताअनुसार केही स्थानमा केही दलहरूसँग चुनावी तालमेल हुन सक्ने भन्दै कसैसँग गठबन्धन नै गरेर एमाले अघि नबढ्ने दावी गर्नुभयो ।

नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने तथ्य एमालेले स्थापित गरेको भन्दै गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटलगायतका विषयमा देखिएका कमी–कमजोरीहरुलाई आगामी निर्वाचनको उम्मेदवारछान्दा एमालेले सुधार गर्ने उहाँको भनाइ रहेको छ ।