फाइल तस्वीर


काठमाडौं – आगामी सन् २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी एसियाकपको लागि आज शनिबार चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भुटानबीच बहराइनमा प्रतिस्पर्धा हुने भएको छ । छनोटका लागि नेपालले आज पहिलो खेल भुटानसँग खेल्न लागेको हो ।

पहिलो छनोट खेल नेपाली यू–२० टिमले बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति ८ः४५ बजे भुटानसँग खेल्ने छ । बहराइनमा आज समूह ‘बी’ मा रहेको नेपालले सोही समूहमा रहेको भुटानलाई हराएर प्रतियोगिताको सुखत नतिजा निकाल्ने लक्ष्य साथ मैदानमा उत्रने छ । भुटान पनि नेपाललाई हराएर छनोट यात्रालाई निरन्तरता दिन चाहन्छ ।

नेपाली यू–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको भन्दै ‘हामीले तीन महिनाबाट प्रशिक्षण गरिरहेका छौं । त्यसैले यो प्रतियोगिताका लागि टिम तयार रहेको छ’ भनेका छन् । कोभिड–१९ का कारण लामो समय नेपाली फुटबल प्रभावित हुँदा युवा टिमलाई पनि त्यसको असर परेको भन्दै मुख्य प्रशिक्षक केसीले यो तयारी पर्याप्त नभए पनि परिस्थितिअनुसार यसलाई कम मान्न हुँदैन’ भनेका छन् ।

समूह ‘बी’ मा रहेको नेपालले भुटानसँगै कतार, बहराइन र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यी सबै ‘बी’ समूहका टिम हुन् । आजको खेल पछि नेपालले दोस्रो खेल सोमबार कतारसँग सामना गर्नुपर्नेछ । पाँच देशका टिम सम्मिलित यो समूहमा कतार र बहराइन बलिया टिम मानिन्छन् ।

यसैगरी नेपालले तेस्रो खेल बिहीबार बहराइनसँग खेल्ने छ भने अन्तिम खेल असोज २ गते आइतबार बङ्गलादेशसँग खेल्ने छ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा खेल्नका लागि स्थान पक्का गर्नेछ ।