फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तागठबन्धनको सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेता खनालले समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू सहमतिको निकट पुगेको बताउनु भएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय ९० प्रतिशत पुरा भएको र भोलि २६ गते आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लागिसक्ने सम्मानित नेता खनालको भनाइ थियो । नेता खनालले ‘एमाले, राप्रपा र पाँच दलीय गठबन्धन बीच यसपालि अर्को चुनाव हुनेवाला छ,’ भन्दै ‘यस चुनावको परिणामका विषयमा सिङ्गो देशले जिज्ञासाका साथ हेरिरहेको छ,’ भन्नुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले भन्नुभयो ‘हामी वार्ताका क्रममा छौं, हामी सहमतिको नजिक पुगेका छौं, हामी आइतबारसम्ममा सहमतिमा पुग्छौं ।’

मुलुकमा वाम एकता विगतदेखि वर्तमानसम्म पनि उत्ति कै महत्वपूर्ण र आवश्यक रहेको बताउँदै, २०४८ सालमा आफूहरूले ‘एक वाम एक ठाउँ’ भन्ने नारा नै लिए पनि त्यसबखत सफल हुन नसकेको उल्लेख गर्नुभयो । नेता खनालले महाकाली सन्धिसम्म आइपुग्दा एमाले पार्टी नै विभाजनसम्मको अवस्थामा पुगेको भन्दै त्यसरी विभाजन हुनु दुःखद् भएको उहाँले बताउनु भयो । वाम एकता हुन नसक्दा देशको विकास गर्ने अवसर नै गुमाउँदै आएको धारणा व्यक्त गर्नुभयो ।

विवादास्पद नागरिकता विधेयकको सम्बन्धमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिंदै पूर्वप्रधानमन्त्री खनालले ‘अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको’ दावी गर्नुभयो । त्यसबेला प्रगतिशील भनिएको यो विधेयकका सम्बन्धमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति पनि नेता खनालको असन्तुष्टि व्यक्त गर्नुभयो ।

एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री खनालले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता गरेर जाने भन्दै आफूलाई कुनै पदको लोभ नभएको उल्लेख गर्नुभयो । व्यक्तिगत रूपमा आफु प्रधानमन्त्री वा राष्ट्रपति बन्नेमा कुनै लोभ नभएको तर, राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी बहन गर्न तयार पनि उहाँले बताउनु भयो ।