काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभयो । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताउनुभएको हो ।

उहाँले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताउनुभयो । डेपुटी गभर्नर मिश्रले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने बताउनुभयो । उहाँले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको बताउनुभयो । मिश्रले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताउनुभयो । उहाँले हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको बताउनुभयो । उहाँले पूर्वाधारमा निर्माणमा थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले खुलाइएको बताउनुभयो ।

मिश्रले सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको भएको बताउनुभयो । डेपुटी गभर्नर मिश्रले पिपिए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रिय बैंकलाई हुने गरेको बताउनुभयो । उहाँले सरकारले पिपिए खुलाएपछि नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको बताउनुभयो ।

उहाँले ठूला पूर्वाधार आयोजनाहरु निर्माणमा हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहने बताउनुभयो । उहाँले अहिले नेपाल सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिने गरेको बताउनुभयो । उहाँले हेजिङ विनियमावली जारी भइसकेकाले पूर्वाधारमा लगानी गर्न आवश्यक सहजीकरणका लागि केन्द्रिय बैंक तयार रहेको बताउनुभयो ।

त्यस्तै,नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिल उपाध्यायले सरकारका तीन वटा बैंकले पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याएर तत्काल सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले सरकारी बैंक भएकाले बैंक ग्यारेन्टी सरकार बस्ने र कन्ट्रिरेटिङ पनि गर्नु नपर्ने बताउनुभयो । उहाँले विदेशी लगानी ल्याउनको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको मात्रै जिम्मेवारी नभएको बताउनुभयो । अध्यक्ष उपध्यायले विदेशी लगानी ल्याउनको लागि बैंक व्यवस्थापनको पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।