काठमाडौं – प्रहरीले काठमाडौंको एक आईटी कम्पनीले साइबर अपराध गरेकोे जनाएको छ । साइबर ब्यूरोले जेनिश सोलुशन प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेललाई पक्राउ गरेको हो ।

सुन्दर ग्रुप अफ कम्पनीले कम्प्युटर लेखा सम्बन्धी उपकरणहरुको कारोबार, कम्प्युटरको थोक व्यापार र अन्य विभिन्न वस्तुहरुको आयात निर्यात गर्ने लगायतका सेवा प्रदान गर्दै आएको थियो । तर कम्पनीले वेवपोर्टल तथा डाटाहरुलाई जेनिश सोलुशनले अनधिकृत रुपमा होस्टिङ अकाउण्टमा प्रवेश गरी बिना पूर्वसूचना सम्पूर्ण डाटाहरु नष्ट गरी क्षति पुर्याएको प्रहरीमा जाहेरी परेको थियो ।

साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धानका क्रममा कम्पनीको संलग्नता देखिएपछि सञ्चालक पोखरेललाई पक्राउ गरेको ब्यूरोले जानकारी दिएको छ । काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीका ५० वर्षीय पोखरेल ललितपुर महानगरपालिका २ झम्सिखेलस्थित कम्पनीमा कार्यरत थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुरमा अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।