काठमाडौं – निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने हुनुभएको छ । उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि पाँचथरबाट उम्मेदवारी दिने हुनुभएको हो । पाँचथरमा एउटा मात्र प्रतिनिधिसभाका निर्वाचन क्षेत्र रहेको छ ।

निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट सङ्घीय सांसदका लागि उम्मेदवारी दिने बताउनुभएको छ । लिङ्देन लामो समय नेकपा माओवादीको विभिन्न संगठनहरुको केन्द्रीय कमिटीमा रहेर काम गरिसक्नुभएको छ । ‘माओवादीलगायत अन्य सबै राजनीतिक दलका नेतृत्वहरू देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरूबाट कुनै सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीति दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’

उहाँले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउटा सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गर्नुभयो । उहाँले ‘रीत’, ‘शान्ति’, ‘अञ्जली’, ‘तलास’ लगायतका एक दर्जन बढी फिल्म निर्देशन गरिसक्नुभएको छ ।