खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो।

थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो। उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्त रूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरेका छन्। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो।

केपिलासगढी गाउँपालिकाले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाको कोर्षका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए।

आवेदन आह्वान गर्ने र दुई विद्यार्थीलाई छनोट गरेर प्राविधिक अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गाउँपालिकामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच हिसाब दौड, कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो।

यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसईईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसईईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताए। गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको उनको भनाइ छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। शुभम् फाउन्डेसनले विद्यार्थीलाई ‘गरी खान सिकाउने’ व्यावहारिक शिक्षाको अभ्यास गराइरहेको छ । रासस