लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा उत्कृष्ट भएको हो ।

स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रदर्शनीमा पनि उत्कृष्ट भएको छ । बेसीशहरमा दुई दिनसम्म भएको वार्षिक समीक्षा कार्यक्रममा सहभागी पाँचजिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रदर्शनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो । यस्तै, जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् ।