फाइल तस्वीर ।

काठमाडौं – सत्तारूढ दल नेपाली काङग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनका लागि गरेको गठबन्धनमा काङ्ग्रेसले एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने चेतानवी दिनु भएको छ । आज बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो ।

गठबन्धन पवित्र थियो वा अपवित्र थियो भन्ने कुरा निर्वाचन पछि मात्रै थाहा हुने उहाँको भनाइ थियो । संस्थापन पक्षसँग असन्तुष्ट कोइराला निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर जान नहुने धारणा व्यक्त गर्दै आउनु भएको छ । ‘यो पवित्र हो कि अपवित्र गठबन्धन हो, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ । आजै भन्न सक्ने अवस्था छैन । अहिले तपाईंहरूले सोध्नुभयो भने पनि म भन्न सक्दिनँ । तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार काङ्ग्रेससँग मिल्दैन, नेता कोइरालाको भनाइ थियो ।

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन गर्ने भनिए पनि चार दलसँग काङग्रेसको केही नमिल्ने यहाँले बताउनु भयो । काङग्रेसले गर्न लागेको गठबन्धन ‘विचित्र’ भएको भन्दै गठबन्धनप्रति असन्तुष्टी प्रकट गर्नुभएको छ ।

नेता कोइरालाले ‘एमालेलाई परास्त गर्न र भोलि सरकार बनाउन गठबन्धन गरेकै हो । हामीले स्थानीय निर्वाचनमा गठबन्धनको निर्णय गर्ने अधिकार पालिकालाई दिएका थियौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय भएको हो । गठबन्धन गर्ने निर्णय लेख्दा हामीले काङ्ग्रेसले एकल बहुमत ल्याउने र सरकार बनाउने गरी गठबन्धन गर्ने भनी लेखेका छौं’ भन्नुभएको छ । कोइरालाले सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने दावीसमेत गर्नुभयो ।