फाइल तस्वीर

सिउल – दक्षिण कोरियामा आएको हिनामनोर आँधीका कारण सात जनाको मृत्यु भएको छ । त्यहाँको एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गर्दै ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिन’ भन्दै दुःख प्रकट गर्नुभएको छ ।

उनीहरू बेसमेन्टमा रहेको आफ्नो कार सार्न तल गएका बेला आँधीको चपेटामा फस्न पुगेका थिए । त्यहाँ फसेका मध्ये उद्धार टोलीले दुई जनाको सकुसल उद्धार गरेका थिए । उनीहरु बेसमेन्टमा रहेको पाइपलाई १२ घण्टाभन्दा बढी समयसम्म समातेर ज्यान जोगाएका थिए । दक्षिण कोरियामा यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा आइपुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।