फाइल तस्वीर

इस्लामावाद – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय सङ्कट उत्पन्न हुन सक्ने भन्दै डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डब्लुएचओका क्षेत्रीय निर्देशक डा. अहमद अल–मान्धरीले ‘हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौं, घातक वर्षाका कारण धेरै क्षेत्रमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,’ भन्नुभएको छ ।

पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौंको मृत्यु भएको छ भने लाखौं मानिसहरु प्रभावित हुँदै आएका छन् । त्यहाँ केही समय अगाडिको वर्षा कारण धेरै क्षेत्रमा असर परेको भन्दै विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको डब्लुएचओका क्षेत्रीय निर्देशक भनाइ छ ।

वर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको भन्दै डब्लुएचओका क्षेत्रीय निर्देशक मान्धरीले पछिल्लो बाढी पहिरोका कारण दशौं लाख मानिस जवरजस्त असुरक्षित पानी प्रयोग गर्न वाध्य भएका छन् । अस्वस्थ तथा प्रदुषित पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको बताउनुभएको छ ।

पाकिस्तानमा बाढी पहिरोका कारण विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन विताईरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य वस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको हुँदा त्यहाँ मानवीय सङ्कट थप उत्पन्न हुन सक्ने डब्लुएचओले चेतावनी दिएको छ ।

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डेङ्गु लगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।