काठमाडौं – नेपाल भलिबल सङ्घ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको छ ।

पछिल्लो समय महासचिव रहनुभएका चन्दले ७६ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गर्नुभयो । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो । यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठले ८५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो ।