फाइल तस्वीर

काठमाडौं – आज बुधबार देशभरको मौसम बदली हुने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ ।

महाशाखाका अनुसार आज बिहानदेखि एक नम्बर प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश एक, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

बुधबार दिउँसो प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । जसकारण यी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।