काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करणको उद्घाटन खेलमा नेपालले सहज जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले जितेको छ । यो जितसँगै नेपालले ३ अङ्क जोड्न सफल भयो ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने ३ गोल थप्न सफल भयो । खेलको सुरुवाती १२ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै गोलको खाता खोलेकी थिइन । गोल मेसिनको रुपमा परिचित सावित्रा (साम्वा) ६८ औं मिनेटमा दोस्रो गोल गर्न सफल भइन् ।

यसैगरी अनिता बस्नेतले खेलको ७३ औं मिनेटमा गोल गर्न सफल भइन् । अनिताको गोलसँगै नेपाल ३–० को अग्रता लिन सफल भयो । खेलको अन्तिम ८४ औं मिनेटमा पुनः अनिताले थप गोल गर्दै नेपालको अग्रतालाई बढाइन् । जस्ले गर्दा भुटान नेपालसँग ४–० गोलको फराकिलो अन्तरले हार्न पुग्यो । अनिता केसीको प्रहार भुटानकी गोलरक्षकले क्लियर गर्न नसक्दा अनिता बस्नेतले बललाई नियन्त्रणमा लिंदै गोलमा परिणत गर्न सफल भइन् । पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ ।

भोलि दुई खेल हुने छन् । पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । समूह ‘ए’ को पहिलो खेल भारत र पाकिस्तानबीच दशरथ रङ्गशालामा हुनेछ भने दोस्रो खेल अपरान्ह ५ः३० बजे बङ्गलादेश र माल्दिभ्स भिड्ने भएका छन् । नेपालले अर्को खेल अब श्रीलङ्कासँग खेल्ने छ ।