साङ्केतिक फाइल तस्वीर

काठमाडौं – नेप्से परिसूचकमा गिरावट आउने क्रमले निरन्तरता पाइराखेको छ । नेप्से आज मङ्गलबार २१ दशमलव १६ अङ्क घटेर १९५१ दशमलव ८४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ८९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४१ अङ्क घटेको छ ।

आज भएको कारोवारमा आएका २२७ कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख ६५ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवारमा भने केही सुधार भएको छ । जबकी हिजो ९० करोड ९९ लाख रुपियाँको मात्रै कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूहको परिसूचक आज घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ० दशमलव ४० प्रतिशत बढेको छ भने बाँकी वित्त उपसमूहको परिसूचक २ दशमलव १२ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक २ दशमलव ०५ प्रतिशतले गिरावट आएको छ ।

आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने झण्डै १० प्रतिशतले बढेको छ । सानिमा माई हाइड्रोपावरको शेयर मूल्यमा ७ दशमलव ३२ प्रतिशत गिरावट आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य पनि ६ प्रतिशत घट्न पुगेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको नौ करोड १४ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।