फाइल तस्वीर

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी दूतावास बाहिर आत्मघाती बम विष्फोट भएको छ । सोमबार भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको समाचारमा जनाइएको छ ।

उक्त आत्मधाती बम विष्फोटमा परी दुई रुसी कूटनीतिज्ञसहित ६ जनाको मृत्यु भएको छ । इस्लामिक स्टेटले आफ्नो एक लडाकुले दूतावासको गेटमा विस्फोट गराएको टेलिग्राममार्फत् बताएको छ । इस्लामिक स्टेटले यस विस्फोटमा परी १० जना घाइते भएको जनाएको छ ।

विस्फोटको समयमा त्यहाँ धेरै रुसी कामदार थिए र धेरै मानिस भिसाको लागि लाइनमा पर्खिरहेको समाचारमा जनाइएको छ ।

तालिवानले केही दिनअघिमात्रै इस्लामिक स्टेटको खतराको परवाह नगरी रुससहित अन्य देशलाई अफगानिस्तानमा काम गर्न आग्रह गरेको थियो । तालिवानको यो आग्रहलगतै इस्लामिक स्टेटले यसैबेला आक्रमण गरेको छ ।

अगस्ट २०२१ मा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विदेशी दूतावासमा भएको यो नै पहिलो आक्रमण हो । तालिवानी सरकारले यस आक्रमणको कडा निन्दा गरेको छ ।