फाइल तस्वीर

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छैटौं संस्करणको उद्घाटन खेल नेपाल र भुटानबीच हुनेछ । सार्क सदस्य राष्ट्रका अफगानिस्तान बाहेक सात देशले यो प्रतियोगितामा भाग लिएका छन् । सात देशका टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान छन् भने समूह ‘बी’ मा आयोजक राष्ट्र नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । आजको उद्घाटन खेल ‘बी’ समूहका चिरपरिचित प्रतिद्वन्द्वी टिम नेपाल र भुटानबीच हुने छ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागी रहेका छन् । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल भने असोज ३ गते हुने तालिका छ ।

आज हुने पहिलो तथा उद्घाटन खेल साँझ ५ः३० बजे नेपालले भुटानविरुद्ध खेल्नेछ । साविक उपविजेता नेपाल पहिलो खेलबाटै आफ्नो प्रभावशाली प्रदर्शनको तयारीमा रहेको भुटानमाथि सहज जितको खोजिमा मैदानमा उत्रिने छ ।

नेपाल यो पटक एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रिँदै छ । नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा २८ भदौमा श्रीलङ्कासँग खेल्ने तालिका छ ।