फाइल तस्वीर

काठमाडौं – भोलि मङ्गलबारदेखि दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । छैटौं संस्करणको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ ।

भोलि २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेल साँझ पाँच बजेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ । उद्घाटन खेल घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्नेछ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालले महिला साफ फुटबल प्रतियोगिता आयोजना गर्नलागेको यो दोस्रो पटक हो । यस अघि सन् २०१९ मा भएको पाँचौं संस्करण पनि नेपालले विराटनगरमा आयोजना गरेको थियो । यस पटकको च्याम्पियनसिप प्रतियोगिता भने पहिलो पटक दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।

नेपाललाई यस पटक घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधिको खडेरी तोड्ने सुवर्ण अवसर पनि जुटेको छ । यस प्रतियोगिताका उपाधि मुख्य दाबेदार टिम नेपाल र भारतलाई नै हेरिएको छ । भारतले यसअघिका सबै पाँचै संस्करणका उपाधिले जितिसकेको छ ।

नेपालभने यस अघिका पाँच संस्करणमध्ये चारवटा प्रतियोगिता भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो भने एउटा संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । नेपाललाई हराएर बङ्गलादेश एक पटकमात्र फाइनलमा पुगेको थियो ।

नेपाली महिला फुटबल टिमले तेस्रो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३ औं साग फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेजतामै खुम्चिएकोे थियो । यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य छ ।

नेपाली टिमको तयारी लामो समयदेखि हुन नसकेता पनि पछिल्लो समय खेलाडीलाई लयमा ल्याउने प्रयास भएको छ । नेपाली टिम गृह मैदान र घरेलु दर्शकको समर्थन पाउने हुँदा सुखद नजितासहित नयाँ इतिहास रच्ने दाउमा मैदानमा उत्रने छ ।

दोस्रो पटक नेपाल पहिला साफ टिमको प्रशिक्षण सम्हालेका कुमार थापाले नेपाली टिममा तीन नयाँ खेलाडीलाई डेब्यु गर्दै नेपाली टोली घोषणा गरेका छन् । जसमा ‘गोल मेसिन’ मानिएर सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन् ।