फाइल तस्वीर

काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो ।

यसरी लामो समयसम्म फोहोरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेशनमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य सडक किनारामा पनि जताततै फोहोर नै फोहोर थियो । उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहोर व्यवस्थापनको काम सकिएको छ भने आइतरबादेखि ट्रान्सफर स्टेशनमा चार महिनादेखि थुपारिएको फोहोर पनि पूर्णरूपमा व्यवस्थापनको काम सकिने कामपाको प्रमुख वालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिनुभयो ।

गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहोरको व्यवस्थापन हुनसकेको थिएन । स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहोरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहोरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । उक्त स्थानमा राखिएको फोहोर व्यवस्थापनको काम सकेसँगै अब नागरिकको घरबाट निस्किएको फोहर सिँधै बञ्चरेडाँडा लगिने लम्सालले जानकारी दिनुभयो ।

यसअघिको फोहोरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा पुग्ने गरेको छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पछिल्लो समय थप पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले उपत्यकामा नै कुहिने फोहोर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । रासस